तपाईँ सुन्दै हुनुहुन्छः

राज्यले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको युग प्रविधिको युग भएकाले राज्यले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मन्त्री शर्माले राज्यले अब नयाँ खोज, अनुसन्धान र प्रविधिको विकासका योजना बनाएर काम गर्ने बताउनुभयो ।

विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अनुसन्धान गरिरहेका विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्न आयोजना गरिएको हिमालयन साइन्स फेस्टिभलको दोस्रो संस्करणको नेपालगञ्जमा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले विज्ञान र प्रविधिको खोज तथा अनुसन्धानमा लागेका व्यक्तिहरूसँग सहकार्य गरी काम गर्न तयार रहेको बताउनुभयो । मन्त्री शर्माले यस्ता फेस्टिभलले विद्यार्थीहरूमा नयाँ ऊर्जा र हौसला थपेको उल्लेख गर्नुभयो ।

फेस्टिभलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका विभिन्न ३५ प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । भोलि फेस्टिभलको समापनका अवसरमा उत्कृष्ट प्रोजेक्टहरूलाई आयोजकले पुरस्कृत गर्नेछ । कक्षा ८ देखि १२ सम्मका सरकारी र निजी विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटो टाइप’ प्रोजेक्टहरू प्रदर्शनीमा राखिएका छन् । फेस्टिभलमा विभिन्न ९ विधामा विद्यार्थीले प्रोजेक्ट राखेका छन् । फेस्टिभललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगञ्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button