तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्ट्राचार नियन्त्रण सरकारको प्राथमिकतामा’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्ट्राचार नियन्त्रणलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गर्नुहुँदै मुख्यमन्त्री शाहले भ्रष्ट्राचार नियन्त्रणका लागि प्रादेशिक कार्य योजना तर्जुमा समिति गठन गर्ने निर्णय भएको बताउनुभयो । मुख्यमन्त्री शाहले गठित तर्जुमा समितिले ३० दिनभित्र प्रतिवेदन बुझाउने र त्यसैका आधारमा भ्रष्ट्राचार नियन्त्रणका लागि थप योजना अघि बढाउने बताउनुभयो ।

यसैगरी नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

यसैबीच आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले लागू औषध दुर्व्यसनीको उपचारका लागि पुनर्स्थापना केन्द्र स्थापना गर्ने र त्यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित निकायको समन्वयमा काम अघि बढाउने निर्णय गरेको छ ।

यस्तै कृषि, वन तथा खनिज पदार्थको उपलब्धताको आधारमा प्रत्येक जिल्लामा प्रशोधन केन्द्र स्थापनाका लागि आर्थिक मामिला मन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको मन्त्री नरेशकुमार शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button