तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट जोगाउन सशस्त्र प्रहरी धनुषाको पूर्वाभ्यास

जनकपुरधाम । गर्मी शुरु भएसँगै मधेश प्रदेशका जिल्लाहरूमा आगलागीको जोखिम बढेपछि सशस्त्र प्रहरी धनुषाले आगलागीबाट जोगिनका लागि प्रतिकार्य अन्तर्गत पूर्वाभ्यास गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नंं ८ हेड क्वाटर धनुषाको आयोजनामा भएको कार्यक्रममा आगलागीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा प्रयोगात्मक अभ्यासका साथै आगलागी भएपछि कसरी मानवीय तथा भौतिक क्षति कम गर्ने तथा क्षति हुन नदिनेतर्फ गरिने उपायबारे पूर्वाभ्यास गरिएको हो ।

खास गरी वर्षेनी रुपमा खाना पकाउने ग्याँसबाट भइरहेको आगलागी कसरी नियन्त्रण गर्न सकिन्छ र खाना पकाउने ग्याँसलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सशस्त्र प्रहरीका प्रशिक्षित प्रहरीहरूले अभ्यास गरेका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले आगलागीका कारण वर्षेनी रुपमा धेरै धनजनको क्षति हुने गरेकाले नियन्त्रणका लागि पूर्वाभ्यास महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आगलागीबाट हुने भौतिक तथा मानवीय क्षतिबाट जोगाउन पूर्वाभ्यासले ठूलो योगदान दिने र उद्धारमा सशस्त्र प्रहरीको ठूलो योगदान रहने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button