वन्यजन्तुबाट तरकारी जोगाउनै मुस्किल
दोधारा चाँदनी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ ।
निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पु¥याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका नाथुराम रानाले बताउनुभयो । उहाँले तरकारी जोगाउन खेतमा जाग्राम बस्न बाध्य भएको बताउनुभयो ।
विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका रानाले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “निकुञ्जका वन्यजन्तुले खेती नष्ट गरिदिन्छन् ।” तरकारी लगाएको खेतको छेउमा रहेको झुपडी देखाउँदै उहाँले भन्नुभयो, “झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।”
निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उहाँले बताउनुभयो । “जङ्गलबाट हात्ती आउने डर हुन्छ, राति डरैडरले बस्नुपर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँकै एक जनालाई आक्रमण गरेको थियो ।”
रानाले १५ कठ्ठामा खेती गर्दै आउनुभएको छ । “तरकारी खेती गरेरै घर खर्च र छोराछोरीको पढाइ खर्च चलाइराखेको छु”, उहाँले भन्नुभयो, “वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ ।” यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जीविकोपार्जन गरिरहेका सुदामा रानाले बताउनुभयो । “यहाँ सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “अन्य बालीभन्दा तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुन्छ ।”
तरकारी खेतीबाट राम्रो आम्दानी हुने भए पनि खेती जोगाउन मुख्य चुनौती रहेको अर्का किसान कैलाशु रानाले बताउनुभयो । “खेती जोगाउन खेतमा बास बस्ुनपर्ने बाध्यता छ निकुञ्जले सीमामा तारजाली लगाए पनि वन्यजन्तु आउन छोडेनन्”, उहाँले भन्नुभयो, “खेती सुरु गर्ने बेलादेखि भित्र्याउने बेलासम्म खेतमै बास बस्ुनपर्छ ।” डेढ दशकदेखि तरकारी खेती गर्दै आउनुभएका यहाँका किसानले भारतबाट आउने तरकारी पनि चुनौती बनेको बताउँछन् । “भारतबाट आउने तरकारीमा विषादी हुन्छ हामी प्राङ्गारिक मलको प्रयोग गर्छौँ”, उहाँले भन्नुभयो, “भारतबाट आउने तरकारीका कारण धेरै वर्ष हाम्रो तरकारी खेर गयो ।”








प्रतिक्रिया राख्नुहोस्