तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा–काठमाडौं सडक मर्मत दुई महिनामा सक्न मुख्यमन्त्रीको निर्देशन

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश राजधानी हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटो नाका हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौं सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले यातायात बन्द गरेरै भए पनि भैँसे–भीमफेदी र हुमाने–फर्पिङ सडकखण्डको काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यका लागि वैकल्पिक सडकको प्रयोग गर्नुपर्दा यातायात व्यवसायीलाई सरकारले निःशुल्क रुट परमिटको व्यवस्था गर्नुको साथै परमिटको म्याद नाघेमा जरिवाना नलिने उल्लेख गर्दै उहाँले व्यवसायीलाई भाडादर यथावतै राख्न आग्रह गर्नुभयो ।

‘वैकल्पिक सडकका रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन गर्नुपर्छ’, मुख्यमन्त्री जम्मकट्टेलले भन्नुभयो । भीमफेदी–भैँसे सडकखण्ड (११ किलोमिटर), हुमाने फर्पिङ सडकखण्ड (सात दशमलव पाँच किमी), दक्षिणकाली–छैमले सडकखण्ड (आठ किमी) र छैमले– सिस्नेरी सडकखण्ड (११ किमी)को निर्माण कार्य तीव्र रूपमा सम्पन्न गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्ने तर काममा ढिलासुस्ती गरेको पाइएमा कारबाही गर्ने बताउनुभयो ।

यसैबीच मुख्यमन्त्री जम्कट्टेलले मर्मत तीव्ररुपमा गर्न हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौं सडक आगामी फागुन १ गतेबाट बन्द गरिने बताउनुभएको छ ।

उहाँको अनुसार करिब दुई महिनाभित्र हेटौँडाबाट काठमाडौं जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्ने गरी मर्मतको काम हुने भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button