सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिनुहुने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिनुहुने भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ । उक्त बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनु हुने कार्यसूची रहेको छ ।
संविधान बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिई सक्नु पर्ने व्यवस्था रहेको छ ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि कम्तीमा २७ जना आवश्यक पर्छ । मुख्यमन्त्री रावललाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राप्रपाको समर्थन रहेको छ । प्रदेश सभामा नेपाली काँग्रेस १९, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपा र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य रहनु भएको छ । यस अघि प्रदेश सभाको बैठक माघ ३ गते बसेको थियो ।







प्रतिक्रिया राख्नुहोस्