तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिका लागि देशलाई आत्मनिर्भर बनाउनु जरुरी: राष्ट्रपति भण्डारी

निर्वाचन आयोगले लगाएको जरिबाना मिनाहा हुनुपर्ने जनप्रतिनिधिहरूको माग

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिका लागि देशलाई आत्मनिर्भर बनाउनु जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित काठमाडौँ उपत्यकाका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/ उपाध्यक्षहरुसंगको अन्तरक्रियामा राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिका लागि शिक्षा, स्वास्थ्य क्षेत्रको विकाससँगै पर्यटन र कृषिलाई विशेष प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहहरूलाई आह्वान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको चुलिँदो व्यापार घाटालाई कम गर्ने एउटा महत्वपूर्ण माध्यम बिजुली भएकाले विद्युतीय सवारी साधनको प्रयोग र घरायसी प्रयोजनका लागि विद्युतीय चुल्होको प्रयोग बढाउनेतर्फ स्थानीय तहहरुले विशेष पहलकदमी गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले स्थानीय तहहरूमा स्थानीय न्यायिक समितिहरू मार्फत विवादहरू मिलाउने काम प्रभावकारी देखिएकोमा सोको प्रशंसा गर्नुहुँदै स्थानीय न्यायिक समितिहरूलाई अझ बढी दक्ष बनाउन क्षमता विकास गदै जानुपर्ने बताउनुभयो ।

काठमाडौँ उपत्यकाको समस्याको रुपमा रहेका नदीनालाको प्रदूषण, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र समग्र विकासका लागि तिनै तहका सरकारबीच अझ बढी हातेमालो गरी अघि बढ्नु आवश्यक रहेको पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यकाका पालिकाका प्रमुख तथा उपप्रमुखहरूले काठमाडौँ उपत्यकामा पनि कतिपय स्थान निकै दुर्गम रहेकाले त्यसको विकासका लागि केन्द्र सरकारले पालिकाहरूलाई विशेष बजेट व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो ।

स्थानीय जनप्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा विवरण ढिलो गरी बुझाएका र नबुझाएका निर्वाचित जनप्रतिनिधिहरूलाई र उम्मेद्धवारहरुलाई निर्वाचन आयोगले जरिवाना गरेकोमा सो जरिवाना मिनाहा हुनुपर्ने अथवा केही दिनको समय दिएर भएपनि विवरण भर्ने मौका दिनुपर्ने राष्ट्रपति मार्फत माग राख्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विकास निर्माणका कुरामा तीनै तह मिलेर अघि बढ्दा प्रभावकारी हुने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जनचासोका विषय र दिगो विकासका कुरालाई आफूहरूले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

तस्वीरः सुनिल सी बज्राचार्य, राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button