दोलखाको कटुवाचौरमा आगलागी हुँदा नौ घर जलेर नष्ट

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौरमा बुधवार राति भएको आगलागीमा परी नौ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
राति करिब ११ः०० बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय लगायतको पहलमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनुभयो ।
स्थानीय रुद्रबहादुर ओलीको घरमा राखिएको परालबाट आगलागी सुरु भएको र घर तथा पसलमा रहेका ग्यास सिलिन्डरहरू समेत विष्फोट हुँदा थप क्षति भएको प्रहरीको भनाई छ ।
आगलागीबाट तीन वटा पक्की घर र ६ वटा जस्ताको पक्की टहरा पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट क्षति भएका सबै घरमा पसल रहेको र पसलका सामानहरू समेत पूर्ण रुपमा जलेको स्थानीय पीडितहरूले जनाएका छन् ।
आगलागीमा परी केही चौपाया र घर तथा पसलहरू पूर्ण रुपमा नष्ट हुँदा झण्डै चार करोडको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले आगलागी पीडितहरूको लागि तत्काल लताकपडा, भाडा वर्तन सहितको चार सेट राहत सामग्री सहयोग गरेको उपमन्त्री भरत नारायण प्रधानले बताउनुभयो ।
त्यस्तै, नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै आगलागी पीडितहरूलाई तत्काल राहत र पूर्नवासको व्यवस्था गर्न संघीय तथा प्रदेश सरकारसँग माग गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्