तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर । यात्रुहरूको सुविधाका लागि विराटनगर विमानस्थलले  आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली ( ब्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ ।

मोफसलका विमानस्थलमा पहिलो पटक सञ्चालनमा  ल्याएको सो प्रणालीको  निमार्ण   लागत  दुई करोड तीन लाख ५१ हजार रुपैयाँ  रहेको छ । सो  प्रणाली अन्तर्गत प्रतिघण्टा दुई हजार देखि चार हजारसम्म ब्यागको स्वचालित रुपमा हवाई यात्रुको स्थानमा  सेवा पुर्‍याउने जनाइको छ । 

नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप महानिर्देशक हंशराज पाण्डेले आज विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गर्नुभयो  ।  सेवा लागु भएपछि  हवाई यात्रुले सहज र सरल रूपले सेवा प्राप्त गर्नुका साथै समय बचत हुने उहाँले बताउनुभयो । 

उड्डयन कार्यालयका व्यापार विभागका निर्देशक जगनाथ निरौला, हवाई सुरक्षा विभागका देवचन्द्रलाल कर्ण, विराटनगर विमानस्थलका निर्देशक रिन्जी शेर्पा लगायतले यस क्षेत्रका विमानस्थलमा विश्वका आधुनिक प्रविधि जडान गरिएकोले हवाई यात्रा सुरक्षित रहेको  विश्वास व्यक्त गर्नुभयो । 

विराटनगर विमानस्थल प्रयोग गरी  सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरू आगमन तथा प्रस्थान गरेको सो कार्यालयले जनाएको छ । उक्त अवधिमा  आगमनतर्फ  तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार  २७६ जना यात्रुहरूले विमानस्थल प्रयोग गरेका छन् ।

यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१  विभिन्न कम्पनीका हवाई जहाजहरूले उडान भरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button