तपाईँ सुन्दै हुनुहुन्छः

यातायात क्षेत्रको गुणात्मक सुधार र सडक सुरक्षा नै मन्त्रालयको प्राथमिकता हो : उपप्रधानमन्त्री श्रेष्ठ

दोहोरो हेल्मेट अनिवार्य गर्नुपर्ने कुनै निर्णय भएको छैन

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रको गुणात्मक सुधार, सडक सुरक्षा र दुर्घटना न्यूनीकरण नै मन्त्रालयको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

सार्वजनिक यातायात, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका सम्बन्धमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिबीच छलफल गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यातायात सेवाको गुणात्मक सुधार, सडक सुरक्षा र दुर्घटना न्यूनीकरण नै मन्त्रालयको प्राथमिकता भएको बताउनुभएको हो ।

दुई पाङ्ग्रे सवारीमा दोहोरो हेल्मेट पनि सुरक्षाको प्रभावकारी उपाय हुनसक्ने र त्यसले दुई पाङ्ग्रे सवारी दुर्घटनाबाट क्षति कम हुने राय विभिन्न पक्षबाट आएको हुँदा उपप्रधानमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका विविध तरिकामध्ये दोहोरो हेल्मेट पनि पर्ने तर त्यसका लागि व्यापक जनसचेतना हुनुपर्नेमा जोड दिनुभएको उहाँका प्रेस संयोजक कमल गिरीले बताउनुभयो । 

अहिले नै दोहोरो हेल्मेट अनिवार्य गर्नुपर्ने कुनै निर्णय नभएको समेत गिरीले बताउनुभयो ।  सार्वजनिक यातायात र खासगरी दुई पाङ्ग्रे सवारीको सुरक्षाको वैज्ञानिकताका बारेमा छलफल भएको र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूले दोहोरो हेलमेटको सुझाव दिएको भएपनि त्यसमा कुनै निर्णय नभएको गिरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button