तपाईँ सुन्दै हुनुहुन्छः

संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकतामा : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ  । 

प्रेस सेन्टर मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मोदीले संघीय संसद्को यही अधिवेशनबाट पारित हुने गरी दुई महिनाभित्रै उक्त ऐन संसद्मा टेबल गर्ने आफ्नो प्रयास रहेको बताउनुभयो ।

सङ्घीयताको कार्यान्वयन र राष्ट्रसेवक कर्मचारीलाई न्याय गर्ने गरी उक्त ऐन आउने उहाँको भनाई थियो ।

उहाँले  स्थानीय तहदेखि प्रशासनमा देखिएका समस्याको समाधान गर्न आफु तत्पर रहेको भन्नुहुँदै निमित्त दिने चलनको सकेसम्म अन्त्य गर्ने  बताउनुभयो  । 

मन्त्री मोदीले  सुशासन कायम गर्न आफ्नै मन्त्रालयदेखि सुरु गरेको उल्लेख गर्दै कर्मचारी समयमा आएको नआएको विषयमा अनुगमन मन्त्रालयबाटै हुन थालेको बताउनुभयो  ।  

मन्त्री मोदीले राहदानी, नागरिकता, राष्ट्रिय परिचय पत्र एवं मालपोत कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा छिटो छरितो र सहज सरल रुपमा प्रदान गर्न मोरङ जिल्लामा कार्यालय प्रमुख भेला गरी त्यसको  शुरुवात गर्ने र यो कार्य मुलुकभरि नै सञ्चालन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button