संविधानकाे रक्षालाई महत्व दिएर विश्वासको मत दियौं : प्रवक्ता महत

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान रक्षाको विषयलाई महत्त्व दिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले प्रधानमन्त्रीले संविधान रक्षाको पक्षमा उभिने प्रतिबद्धता जनाएकाले तत्कालका लागि विश्वासको मत दिएको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को पहिलो बैठकमै संसद् विघटनको विषयमा प्राथमिकताका साथ अभिव्यक्ति दिएपछि संविधान रक्षाको पक्षमा उभिएर काँग्रेसले तत्काललाई सरकारलाई समर्थन दिएको स्पष्ट पार्नुभयो ।
“अब आउने दिनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ, राष्ट्रपतिको चुनावमा पनि उहाँको परिक्षण हुन्छ,” महतले भन्नुभयो- ‘प्रधानमन्त्रीले साझा सहमति बनाउन लाग्छु भन्नुभएको छ, संविधानको मूल मर्म र भावना अनुसार अहिलेको राष्ट्रपतिले काम गर्न नसकेकाले संविधान रक्षा, कानुनी शासनको पक्षमा उभिने राष्ट्रपति बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।” उहाँले संविधानको संरक्षण गर्ने व्यक्ति नै राष्ट्रपतिका लागि उपयुक्त हुने बताउनुभयो ।
उहाँले काँग्रेसले सरकारको खबरदारी गर्दै संसद्को मर्यादाभित्र रहेर आफ्नो भूमिका निभाउने बताउनुभयो । महतले पार्टी अब सङ्गठन निर्माण र पार्टी पङ्क्तिलाई एकताबद्ध बनाएर लैजाने विषयमा केन्द्रित हुने उल्लेख गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्