हराउँदै प्राचीन कालिन धर्मशाला

बाजुरा । कुनै समयमा पोरखेगढी धर्मशालाको निकै महत्त्व थियो । करिब पाँच हजार फिट उचाइमा निर्मित यी धर्मशाला तत्कालीन राजा महाराजाको प्रमुख वासस्थानका रुपमा चिनिन्थे । सडक यातायातको पहुँच नहुँदा राजा रजौटासँगै हटेरु (हाटजाने बाटो) का लागि पोरखे गढीका धर्मशालाको निक्कै उपयोग हुन्थ्यो । उच्च हिमाली जङ्गलमा निर्माण गरिएका यी धर्मशालाहरू विशेषगरी हिउँदमा हिउँ छल्न र वर्षामा वत लाग्न अनि जङ्गली जनावरको आक्रमणबाट बच्न बरदान साबित हुन्थे ।
वर्षै अघिसम्म बाजुराको उत्तरपूर्वी क्षेत्र कण्डा लगायत, हुम्ला मुगु , जुम्ला जिल्लाबाट आवागमन गर्ने एकमात्र प्रमुख नाकाको बाटो पोरखेगढी नै थियो ।
तत्कालीन समयमा पोरखे लाङ्गनाको बाटो भएर आवागमनको विकल्प थिएन । जुम्ला सिंजा राज्यबाट मुद्दा छिन्न र वार्षिक तिरो तिर्न डोटी गौँडा आउनु पर्ने र डोटीबाट पश्चिम नेपाल राजापुर हुँदै काठमाडौं पुग्ने हुलाकी मार्गकारुपमा पोरखेगढी चिनिन्थ्यो ।
पोरखेगढीमा पुगेपछि राजाले आराम गर्ने विशेषगरी कुण्डा बाजुरा र तल्लो बाजुराको सिमाना उक्त गढीले छुटाएको छ । राजा आएर पोरखे गढीमा बास बस्ने पश्चिम बाजुरा भएर तत्कालीन जुम्ली महाराज डोटी पुग्थे । उसो त जुम्लादेखि डोटी पुग्दासम्म हजार बढी धर्मशाला निर्माण गरिएका छन्।
‘जुम्ली मार्सी धानको चामल प्रत्येक दिन तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरका लागि काठमाडौं पु¥याउनु पर्ने हुन्थ्यो। जुम्लाबाट प्रत्येक दिन पार्सल गरिएको मार्सी धानको चामल बोक्ने बाटो पछि गएर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले हुलाकी राजमार्गकारुपमा स्थापित गरेका थिए ।’ बडीमालिका नगरपालिकाका पूर्व नगरप्रमुख बडुवालले भन्नुभयो ।
‘राजा आउँदा राजाको पल्टन बस्ने र अघिपछि सर्बसाधरण बटौनेका लागि बासस्थान हुन्थे । त्यस्तै राजाले आराम गर्ने गाउँ गाउँमा हजारौँ चौतारा थिए । थकाई लाग्दा लौरी टेकी उभिने ठाउँ बिरखममका रुपमा स्थापित थिए । राजाले पानी पिउने बनाईका ढुङ्गे धारालाई मुङ्ग्राका रुपमा स्थापित भए ।’
पछिल्लो समयमा गाउँका चौताराहरू गाउँलेले सामूहिक छलफल गर्ने र ठोस निष्कर्षमा पु¥याउने कचहरी गर्ने थलोका रुपमा परिचित थिए । जहाँ गाउँलेको निर्णायक भूमिकाले गाउँको विकासको खाका कोर्थ्यो । यी भौतिक संरचना जस्तै गाउँ गाउँमा सहकार्य र एकताको सन्देश दिन्थ्यो । तर, आधुनिक विकासका नाममा पुराना संरचना ध्वस्त पारिए । ‘नयाँ विकासका नाममा पटके योजना ल्याउने कार्यकर्ता भरण पोषण गर्ने ,मूलबाटो छोडेर जथाभाबी डोजर प्रयोग गर्नेजस्ता छाडा मनोबृत्तीको विकास भयो । यसले प्रकृतिको दोहन हुनुका साथै वातावरणीय असर प्रभाव बढ्दै गएको छ । यसरी प्राचीन कालीन भौतिक संरचना नासिँदै जाँदा एकतिर इतिहास नै हराउने अवस्था छ भने अर्को तर्फ हाम्रो पहिचान नै गुम्ने खतरासमेत देखिँदै छ । वातावरणीय दृष्टिकोणबाट पनि यी कदमहरू उपयुक्त देखिँदैन’ ,लेखक एवं इतिहासकार जहरसिंह थापाको भनाई छ ।
विगत एक दशक अघिसम्म पैदल हटेरुका लागि प्रमुख वासस्थानका रुपमा धर्मशाला चिनिएका थिए । टनकपुर राजापुर, फल्टुडे, डोट दिपायल साफे र मार्तडीदेखि नुन तेल लगायत र संरक्षण गरिँदै आएका धर्मशाला पछिल्लो समय लोप भएका छन् । प्राचीन कालिन धर्मशाला लगायत पानी पिउने मुङ्ग्रा (धारा) आराम गर्ने चौतारा लगायतका प्राचीन कालिन संरचना लोप हुँदै गएको स्थानीयहरू बताउँछन् ।
स्वामिकार्तिक माविका सामाजिक शिक्षक नहकुल जोशीका अनुसार बाजुराका प्राचीन कालिन भौतिक संरचनाको उचित संरक्षण अभावमा लोप भएका हुन् । पछिल्लो समय सडक यातायात पुगे सँगै तिनीहरूको उपयोगिता न्युन हुँदै गएको हो । वास बस्नका लागि पैसा नभएका हटेरुहरु बाटामा निश्चित दुरीमा भएका धर्मशालामा पुग्ने गरी हिँडाइको तादात्म्य मिलाउँथे र सोही अनुसार सो धर्मशालामा वास बस्ने गर्दथे । त्यस्ता धर्मशालाहरू प्रायः बाटोमै पानी भएको स्थानमा निमार्ण गरिएका हुन्थे । पछिल्लो समय पैदल हिँड्ने मानिसहरू भए पनि धर्मशाला निकै जीर्ण अवस्थामा रहेको र तिनीहरूको संरक्षण तथा प्रयोगको प्रवृत्ति हट्दै गएका कारण यी सम्पदाहरू दिनानुदिन लोप भइरहेका हुन् । मानिसहरूमा धर्मशालाको संरक्षण गर्नुपर्छ भन्ने भावना पनि हराउँदै गएको कारण दशक अघि निकै प्रयोग हुँदै आएका धर्मशालाहरू पछिल्लो समय लोप हुँदै गएको शिक्षक जोशीले बताउनुभयो ।
परिवारको जोहोका लागि भारतमा काम गर्न जाने र देशका विभिन्न स्थानमा लाग्ने हाटमा वस्तु विनिमय गर्न जाने जिल्लाका बासिन्दा सँगै हुम्ला र मुगुका स्थानीयले समेत प्रयोग गर्ने बाजुराको पोरखे स्थित धर्मशाला र बाँधुको कालापहरा धर्मशाला अहिले पूर्ण रुपमा लोप भइसकको छन् । पोरखेमा धर्मशाला भए पनि प्रयोग गर्ने अवस्थामा छैन भने बाँधुमा सडक बनाइए सँगै धर्मशाला नै लोप भएको छ । प्राचीन कालिन समयमा निर्माण गरिएका यी भौतिक संरचनाको संरक्षण गर्नसके पछिल्लो पुस्तालाई समेत पुर्खाको बारे जानकारी लिन सजिलो हुने स्वामिकार्तिक माविका शिक्षक जोशीको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्