विद्यार्थीहरूसँग बीमासम्बन्धी अन्तरक्रिया
काठमाडौँ । बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नुवाकोटको दुप्चेश्वर–६, समुन्द्रटारस्थित रुक्मिणी माध्यमिक विद्यालयमा बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा रुक्मिणी माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ विद्यार्थीहरू लगायत गरी करिब ६५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले गाउँ गाँउमा बीमासम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालय स्तरमा समेत बीमासम्बन्धी कार्यक्रमहरू आयोजना गरिँदै आएको बताउनुभयो ।

उपनिर्देशक सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारी दिन विद्यार्थीहरूसँग आग्रह गर्नुभयो ।
रुक्मिणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमासम्बन्धी प्रस्तुती गर्नुभएको थियो भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्