वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा स्थानीय तहका सम्पर्क अधिकृतहरूलाई प्रशिक्षण
चितवन । वैदेशिक रोजगार बोर्डको सचिवालयले बोर्डको अनलाइन प्रणाली प्रयोग गरी बोर्डको सेवा स्थानीय तहबाट प्रदान गर्न सूचीकृत स्थानीय तहका सम्पर्क अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

चितवनमा आज सम्पन्न २ दिने प्रशिक्षण कार्यक्रममा विभिन्न ४ प्रदेशका ५६ सम्पर्क अधिकृतहरूको सहभागिता थियो ।

चालु आर्थिक वर्ष १ सय ५० स्थानीय तहबाट तोकिएका सम्पर्क व्यक्तिलाई स्थानीय तहबाटै अनलाइन प्रविधि प्रयोग गरी सचिवालयले दिने सेवा प्रवाह गर्न पासवर्ड र युजर नेम उपलब्ध गराउने कार्यक्रम रहेको बोर्ड सचिवालय निर्देशक एवं प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख मैंया कँडेलले जानकारी दिनुभयो ।
अब वैदेशिक रोजगार विभाग र बोर्ड सचिवालयले दिने अनलाइन सेवाबारे पनि स्थानीय तहमा रहेका रोजगार सेवामा काम गर्ने सम्पर्क व्यक्तिहरूलाई सहज हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि नेपालगञ्जको बाँके र काठमाडौँको गोदावरीमा गरी ६४ जनालाई प्रशिक्षण दिइसकिएको बोर्डको सचिवालयका नायव सुब्बा आशिष कुमार भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली कार्यविधि, २०७८, सचिवालयबाट प्रदान गरिने कल्याणकारी सेवाहरूको प्रक्रिया तथा आवश्यक कागजात सहितको प्रस्तुती, सचिवालयबाट सेवाहरू प्रवाहमा कार्यक्रम अधिकृत र फोकल पर्सनको भूमिकालगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको बोर्डले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्