‘मौलिक गीत/सङ्गीतको संरक्षण र विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्छ’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक गीत/सङ्गीतको संरक्षण र विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नातिकाजी स्मृति समाजले आज राष्ट्रपति भवन शीतल निवासमा गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले मौलिक गीत/सङ्गीतमा सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्न सक्ने क्षमता भएको हुनाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृति एवं गीत/सङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व गर्ने र विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले स्वर्गीय नातिकाजी लगायत नेपाली साङ्गीतिक क्षेत्रको पहिलो पुस्ताका कलाकारहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्नुहुँदै उनीहरूका गीत/सङ्गीतको संरक्षण र प्रचारप्रसारका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले कलाकारहरू मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८ प्रदान गर्नुभयो ।
यस्तै राष्ट्रपति भण्डारीले कलाकारहरू एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा देबेन गिरी, दीपक शर्मा कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्नुभयो ।
यस्तै सो अवसरमा राष्ट्रपति भण्डारीले लोक गायिका देवी घर्तीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार, चन्दनकुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, रविन कार्की ढलीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार तथा आशिष सचिन गौतमलाई नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार प्रदान गर्नुभएको थियो ।
स्वर्गीय नातिकाजी श्रेष्ठले स्थापना काल देखिको झण्डै ४० वर्ष रेडियो नेपालमा रहेर नेपाली गीत/सङ्गीतको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्