लिसंखु पाखरमा ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज एक सूचना जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर विष्टले कार्यपालिकाको निर्णय अनुसार बिदा दिएको जानकारी दिनुभयो ।
२८५९ औँ ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।
तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्