तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिकताका कामहरूको सूची पेश गर्न मन्त्रालयहरूलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । सरकारले गठबन्धन सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि आफ्नो कार्यक्षेत्र भित्र गर्नुपर्ने प्राथमिकता प्राप्त कामहरूको सूची मन्त्रिपरिषद्मा पेश गर्न मन्त्रालयहरूलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सात दिन भित्र प्राथमिकता प्राप्त कामहरूको सूची पेश गर्न मन्त्रालयहरूलाई निर्देशन दिएको बैठकपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले न्यूनतम कार्यक्रम कार्यान्वयनका सन्दर्भमा मन्त्रालयबाट आएका प्राथमिकता प्राप्त कामहरूलाई सरकारले कार्यान्वयनमा लैजाने पनि बताउनुभयो । 

उपप्रधानमन्त्री पौडेलले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोक्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।

यस्तै बैठकले ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button