मधेश प्रदेशको उपसभामुखमा बविता कुमारी निर्वाचित

जनकपुरधाम। मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धन दल जनमत पार्टीका प्रदेश सभा सदस्य बबिताकुमारी राउत ईशर निर्वाचित हुनु भएको छ । समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य भएकी ईशर प्रदेश सभामा मत विभाजनबाट उपसभामुखमा निर्वाचित हुनु भएको छ ।
मधेस प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ९ र ७ को उपनियम ४ बमोजिम उहाँ उपसभामुख चयन हुनु भएको छ । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी समानुपातिक सांसद राउतलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै उहाँ उपसभामुखमा चयन हुनु भएको हो । प्रस्तावको विपक्षमा २९ मत खसेको थियो ।
उपसभामुखको निर्वाचनमा प्रदेश सभामा १०१ जना प्रदेश सभाका सदस्य उपस्थित रहनु भएको थियो । राउतलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गर्नु भएको छ ।
यसअघि काँग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिनु भएको नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य बेची लुंगेलीलाई प्रदेशसभा सदस्य रतनेश्वर गोईत यादवले निर्वाचित गरियोस् भन्ने पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
यसअघि हिजो दिउँसो बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित भई सक्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्