मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाको आज बस्ने बैठकबाट विश्वासको मत लिन लाग्नु भएको छ ।
आज बिहान ११ बजेको लागि बोलाइएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत लिने कार्यसूची रहेको छ ।
पुस २७ गते ६३ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएका जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता यादव गत पुस २९ गते पद तथा गोपनीयताको शपथ लिनु भएको थियो ।
मधेश प्रदेशमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गर्दा उहाँलाई हाल ७२ प्रदेश सभा सदस्यहरुको समर्थन रहेको छ ।
हालसम्म नेपाली काँग्रेस २२, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी १ र तीन स्वतन्त्र प्रदेश सभाका सदस्यहरु प्रतिपक्षमा रहनु भएको छ ।
मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि विश्वासको मत दिने पक्षमा भएपनि आज बिहान १० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने प्रदेश सभाका सदस्य शेषनारायण यादवले जानकारी दिनु भएको छ । विश्वासको मत दिनका लागि मुख्यमन्त्री यादवले काँग्रेसका संसदीय दललाई लिखित रुपमा नै आग्रह गरिसक्नु भएको छ ।
मधेश प्रदेशमा कूल १०७ जना प्रदेश सभाका सदस्य भएपनि नेकपा माओवादी केन्द्रका दुई जना प्रदेश सभाका सदस्य निलम्बनमा परेका छन् ।







प्रतिक्रिया राख्नुहोस्