भंगहामा राष्ट्रिय थारु माघी महोत्सवको आयोजना
बर्दिबास । थारु समुदायले महोत्तरीको भंगहामा राष्ट्रिय थारु माघी महोत्सवको आयोजना गरेर नयाँ वर्ष थारु संवत् २६४६ मनाएका छन् ।

महोत्सवमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट आएका पुरुषहरू धोती र कुर्ता पहिरनमा थिए भने महिलाहरूले घाँटीमा हसुली, कम्मरमा कर्धन र खुट्टामा कारा लगाएका थिए । कानमा झुम्का र नाकमा नथुनीले अझ उनीहरूको कला-संस्कृति झल्कन्थ्यो ।

माघी महोत्सवमा थारुहरूको खानाको विशेष परिकारहरू प्रदर्शनी गरिएको थियो । महोत्सवमा लोप हुन लागेका झुमरा नाच, मयूर नाच, लट्ठी नाच, झर्रा लगायत थारु समुदायको कला–संस्कृति झल्किने नृत्य पनि प्रस्तुत गरिएको थियो ।

थारु कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले माघी महोत्सव आयोजना गरिएको थारु कल्याणकारी सभा महोत्तरीका अध्यक्ष चेतनारायण चौधरीले जानकारी दिनुभयो ।

थारु कल्याणकारी सभा महोत्तरीका अध्यक्ष चेतनारायण चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य चन्द्रनारायण सिंह थारुको प्रमुख आतिथ्यमा आयोजित महोत्सवमा भंगहा नगरपालिकाकी उपप्रमुख शान्ति सिंह थारु, वडा नं ३ का वडाध्यक्ष जितेन्द्र कुमार सिंह थारु, थारु कल्याणकारी सभाका केन्द्रीय सल्लाहकार उदयनारायण चौधरी लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्