पाँचौँ धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

धनकुटा । धनकुटामा माघ ६ गतेदेखि हुन लागेको प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाँचौँ धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने तय गरिएको महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजक उद्योग वाणिज्य संघ धनकुटाले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा आयोजना हुन लागेको महोत्सवमा एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी हुनेछ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने छ भने महोत्सवको समापन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई जानकारी दिनुभयो ।
माघ १६ गतेसम्म सञ्चालन महोत्सवमा १ सय ८० स्टल रहनेमा १ सय ३७ कृषि प्रदर्शनी स्टल र १५ वटामा जातीय परिकारका रहने स्टल रहने र महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको साथमा मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

महोत्सवका लागि अग्रिम बुकिङ सुरु भइसकेको छ भने महोत्सव हुने स्थान टुँडिखेलमा स्टल निर्माणको काम धमाधम भइरहेको छ ।
महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने तथा ७७ लाखको आयव्ययमा करिब ५ करोड रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।
धनकुटामा हरेक तीन वर्षमा महोत्सव हुँदै आएकोमा कोरोनाका कारण गत वर्ष महोत्सव हुन सकेको थिएन ।









प्रतिक्रिया राख्नुहोस्