यातायात व्यवस्था सेवा कार्यालयको सेवा प्रभावकारी बन्दै

विराटनगर । प्रदेश १ सरकारको सहयोगमा विराटनगर–४ खार्जीस्थित यातायात व्यवस्था सेवा कार्यालयले गत साउन १५ गतेदेखि सवारी चालक अनुमति पत्र कार्यालयबाटै प्रदान गर्न शुरु गर्यो ।
विराटनगर प्रदेश १ को राजधानी भएपनि सवारी चालक अनुमति पत्र बनाउने व्यवस्था नहुँदा मोरङ जिल्लाका सर्वसाधारणलाई सवारी चालक अनुमति पत्र बनाउनका लागि सुनसरीको इटहरी तथा झापाको विर्तामोड जानुपर्ने बाध्यता थियो ।
विराटनगरबाटै सवारी चालक अनुमति पत्र पाउन थालेपछि सेवाग्राहीलाई अहिले निकै सहज भएको छ । कार्यालयले सवारी चालक अनुमति पत्र दिन थालेपछि अरू जिल्लामा गएर सवारी लाइसेन्स बनाउन धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
अनलाइनको माध्यमबाट आवेदन दिने व्यवस्था मिलाएको सो कार्यालयले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्याक्टर लगायतका सवारी साधनहरूको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमति पत्र दिँदै आएको छ ।

साउन–१५ गते देखी मङ्सिर मसान्तसम्म प्रक्रिया पुरा गरेका साढे चार हजार जनाले परीक्षा उत्तीर्ण गरेको कार्यालयका प्रमुख अनमोलमणी भट्टराइले बताउनुभयो ।
सवारी चालक अनुमति पत्रका लागि सो अवधिमा ९ हजार ८ सय ३७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४५ दशमलव ७० प्रतिशतले परीक्षा उत्तीर्ण गरेका हुन । कार्यालयले सो अवधिमा ११ करोड ५७ लाख ८६ हजार ४ सय राजश्व सङ्कलन गरेको छ ।
सवारी चालक अनुमति पत्र विराटनगरबाटै बनाउन पाइने भएपछि मोरङ जिल्लाका साथै अन्य जिल्लाका सेवाग्राहीहरू सेवा लिन विराटनगर आउन थालेका छन् ।
कार्यालयबाट छिटो छरितो एवं सहज रुपमा सेवा पाउन थालेपछि लाइसेन्स बनाउने सेवाग्राहीको चाप कार्यालयमा उल्लेखनीय रुपमा बढेको छ ।
कार्यालय प्रमुख भट्टराइले जनशक्ति कम भएपनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रभा गरिरहेको बताउनुभयो । कार्यालयमा रहेका ११ जना कर्मचारीले बिहान ७ बजेदेखि राती ९ बजेसम्म खटेर जतिसक्दो चाँडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।
विराटनगरबाटै चालक अनुमति पत्र दिन शुरु गरेपछि समय कम लाग्ने र सबै काम समयमा हुन गरेको विराटनगर–८ का सेवाग्राही अजयकुमार सिंहको भनाई छ ।
कार्यालयबाट अहिले दैनिक पाँच सय बढी सेवाग्राहीले सेवा पाइरहेका छन् । आफ्नो भवन नहुँदा अहिले भाडाको घरमा कार्यालय सञ्चालनमा छ । सेवाग्राहीको चाप बढेपछि कार्यालय सञ्चालन लागी सो भवन अपुग र साँगुरो भएको सेवाग्राही बताउँछन् ।
त्यस्तै सो कार्यालयले बस, ट्रक लगायत ठुला सवारी साधनहरूका लागी पनि चालक अनुमति पत्र दिने गरि व्यवस्था मिलाउन लागिएको कार्यालय प्रमुख भट्टराईको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्