ओखलढुङ्गामा पाँच करोडको सुन्तला उत्पादन

ओखलढुङ्गा । ओखलढुङ्गामा पाँच करोडको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको तथ्याङ्क अनुसार जिल्लामा यस वर्ष पाँच करोड बराबरको सुन्तला उत्पादन भएको हो ।
जिल्लामा २ सय ६७ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेती बाट ८ सय ५० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका कृषि अर्थ विज्ञ गणेश अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्ष २०७९/०८० मा २६ मेट्रिक टन बढी सुन्तला फलेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ८२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
यस वर्ष उत्पादन भएको सुन्तला जिल्लामा प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री गर्दा पाँच करोड भन्दा बढी रकमको हुने कार्यालयका निमित्त प्रमुख हेमबहादुर आलेको भनाई छ । समयमै पानी परेको र रोग किरा कम लागेका कारण सुन्तला जातको फलफूलको उत्पादन बढेको निमित्त कार्यालय प्रमुख आलेले बताउनुभयो ।
सुन्तला बोटमै अहिले ६० देखी ८० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । स्थानीय बजारमा सुन्तला प्रतिकिलो ८० देखी १ सय २० रुपैंयामा बिक्री भइरहेको छ ।
जिल्लाको सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकाको माथिल्लो क्षेत्रमा सुन्तला खेती गरिन्छ ।
विगतका वर्षहरुमा प्रशस्तै सुन्तला उत्पादन हुने क्षेत्र मानेभञ्ज्याङ गाउँपालिकाको उँबु, वाक्सा, उदयपुर र माधपुर क्षेत्रमा सुन्तला मासिँदै गएको पनि कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्