‘पालिकाहरूले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनुपर्ने’

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरूले सेवासँग आबद्ध गरेर सबैले बीमा गर्नै पर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरूको स्वागतमा आज नेपाल बीमा प्राधिकरणको कुपण्डोलस्थित कार्यालयमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले पालिकाहरूले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनुपर्ने बताउनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, “हाल बीमा क्षेत्रमा धेरै परिवर्तन आएका छन् । सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बीमाका बारेमा बुझ्दै गएका छन् । राष्ट्रिय बीमा नीति कार्यान्वयनमा आएपछि सरकारका लागि समेत बीमा बाध्यकारी बन्छ । प्रदेश र पालिकाहरूले पनि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्न सक्छौँ ।”
“सरकारले आफ्नो जिम्मेवारी बाहेकका आर्थिक जोखिम बीमा मार्फत बीमा कम्पनीहरूमा हस्तान्तरण गर्नुपर्छ । सबै सरकारी सम्पत्तिको बीमा हुनुपर्छ”, अध्यक्ष सिलवालले भन्नुभयो “प्राधिकरणले बीमा क्षेत्रको लगानी विविधीकरणका लागि निर्देशिकाहरु जारी गरेको छ । यसबाट जलविद्युत लगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बीमा कम्पनीहरूले लगानी गर्ने बाटो खुलेको छ । कम्पनीहरूले सहायक कम्पनी बनाएर पनि लगानी गर्नसक्ने व्यवस्था गरिएको छ ।”
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा बीमाको दायरामा आउने जनसङ्ख्या (म्यादि, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख समेत) बढेर ४४ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
उहाँले चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा शुल्क सङ्कलन २.३९ प्रतिशत र निर्जीवन बीमा शुल्क सङ्कलन ३.५८ प्रतिशतले बढी कूल बीमा शुल्क सङ्कलन २.६४ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका साथै बीमासम्बन्धी अध्ययन अनुसन्धान र जनचेतना अभिवृद्धिका विषयमा प्राधिकरण र नाफिजबीच नियमितरुपमा सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल (अधिकारी) तथा नाफिजको नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारीहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्