तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट निवर्तमान वडाध्यक्षको मृत्यु

कास्की। कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आगलागीका कारण निवर्तमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आउनुभएका उहाँ घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो । उहाँका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिनुभयो ।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button