नयाँ वर्ष मनाउन २० हजारभन्दा बढी भारतीय पर्यटक ठोरीमा

वीरगञ्ज । मधेस प्रदेशकै पर्यटनको केन्द्रको रूपमा रहेको पर्साको सुदूरपश्चिम ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२३ मनाउन २० हजारभन्दा बढी भारतीय पर्यटक आएका छन् ।
नयाँ वर्ष मनाउन आज भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका बासिन्दा ठोरी घुम्न र वनभोजका लागि आएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । ठोरी घुम्न आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएपछि ठोरीलाई थप व्यवस्थित बनाइएको उहाँले बताउनुभयो । हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
ठोरीमा चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका बासिन्दासमेत शनिबारदेखि नै पिकनिक मनाउन पुगेका छन् । ठोरीको राईधारा, सेतो पहाड, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ ।
नयाँ वर्ष मात्रै नभई हाल अन्य दिनमा समेत ठोरीमा दैनिक पाँच सयदेखि एक हजारको सङ्ख्यामा भारतीय पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताउनुभयो ।
ठोरीमा पर्यटकहरूलाई लोभ्याउन होमस्टेदेखि रिसोर्टसम्म सञ्चालनमा आएका छन् ।







प्रतिक्रिया राख्नुहोस्