फिल्म सिटी निर्माण स्थलमा भुवन केसी सहितको टोली

दोलखा । सञ्चार मन्त्रालयको सहसचिव, चलचित्र विकास बोर्डका अध्यक्ष लगायत सरोकारवाला निकायको एउटा टोलीले अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माण स्थल दोलखाको डाङडुङे डाँडाको स्थलगत अवलोकन गरेको छ ।
दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ डाङडुङे डाँडाको १५ सय रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्मशिटीको काम सुस्त गतिमा अघि बढी रहेको बेला सरोकारवाला निकायको टोलीले स्थलगत भ्रमण गरेको हो ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माणमा सरकारको स्पष्ट दृष्टिकोण नहुँदा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको स्थानीय बताउँछन् ।
आज सञ्चार मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उपसचिव श्रीधर ज्ञवाली र सुरेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष एवं वरिष्ठ कलाकार भुवन केसी, बोर्डका सदस्य सचिव टङ्क महत, वरिष्ठ कलाकार एवं अन्तर्राष्ट्रिय फिल्मशिटी निर्माण समितिका संयोजक मदनदास श्रेष्ठ, समाजसेवी शोभित उप्रेती लगायतको टोलीले फिल्म सिटी निर्माण स्थल खरी ढुङ्गा डाङडुङे डाँडाको अवलोकन गरेको हो ।
सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डाङडुङे डाँडामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटीलाई चलचित्र विकास बोर्डले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
फिल्म सिटी निर्माणमा झण्डै १८ अरब खर्च लाग्ने अनुमान गरिएको निर्माण समितिका संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनुभयो ।

भौतिक संरचना निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार अहिलेसम्म निर्माण स्थलसम्मको साढे छ किलोमिटर सडक निर्माण भएको छ भने केही किलोमिटर कालोपत्रे समेत गरिएको वरिष्ठ कलाकार श्रेष्ठले बताउनुभयो ।
फिल्म सिटी निर्माण स्थलमा बिजुली तथा खानेपानीको व्यवस्थापन भइरहेको र अहिलेसम्म प्रशासनिक भवन, सांस्कृतिक भवन र गेष्ट हाउसको निर्माण कार्य भइरहेको निर्माण संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनुभयो ।
अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणपछि डाङडुङे डाँडामा इन्डोर तथा आउटडोर दुवै प्रकारको फिल्म सुटिङ गर्न सकिने छ ।
फिल्म सिटी क्षेत्रमा सुविधा सम्पन्न होटल लगायत सम्पूर्ण सुविधा उपलब्ध हुने श्रेष्ठले बताउनुभयो ।
फिल्म सिटी निर्माणमा अहिलेसम्म झण्डै ३५ करोड रुपैयाँ खर्च भएको श्रेष्ठको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्