तपाईँ सुन्दै हुनुहुन्छः

तिला नदीको पानीले सुक्खा पहाडमा सिँचाई,  किसान उत्साहित

जुम्ला । सिँचाई अभावले तिला गाउँपालिका वडा नं. १ र २ का खेतीयोग्य पहाडी भू–भाग दशकौँदेखि बाझै छन् । 

दुई वडाका लर्मी र लिही गाउँका खेतीयोग्य जमिन सिँचाई अभावले मरुभूमि जस्तै छन् । गाउँमा सिँचाई त परै जावस खानेपानीको समेत काकाकुल अवस्था छ । 

काकाकुल लिहि र लर्मीका स्थानीय छेउबाटै बग्ने तिला नदीलाई निहाल्छन् पानी देख्छन्, नदीको कलकल सुन्छन् । विडम्बना जग्गा बाँझिएका छन् । गाग्री रित्तिएका छन् । दुर्गम लिहि र लर्मी गाउँमा खेतीको सिजनमा देवता भाकेर पानी माग्नुपर्ने बाध्यतासम्म थियो ।

स्याउ, ओखर, सिमि, मकै, फापर, तरकारी खेती जस्ता अन्नबाली फलाउने उर्वरा भूमि भएर पनि सिँचाई नहुँदा लिही र लर्मीका किसानको श्रम अनुसारको उत्पादन हुने थिएन । गाउँ छेउकै तिला नदीको पानी माथि पहाडमा ल्याएर सिँचाई गर्ने, उत्पादन वृद्धि गर्ने समुदायको सपना थियो । 

लिहि र लर्मी गाउँको माग र समस्यालाई मध्यनजर गर्दै पेश नेपाल जुम्लाको मोटो बजेट लगानीमा नदीको पानी लिफ्टमार्फत पहाडको टुप्पोमा पुर्‍याएपछि स्थानीय दङ्ग परेका छन् ।

ताली नदीको पानी पहाडमा पुग्ने र सिँचाई गर्ने कल्पना समेत नगरेका स्थानीयले गाउँभरि पुग्ने सानो खोला जत्तिकै पानी सुक्खा पहाड पुगेपछि दङ्ग भएका हुन् । 

अनुकूलन कोषको आर्थिक सहयोग, नेपाल सरकार संघीय वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम समन्वय तथा पेस नेपालको साझेदारीमा बृहत् लिफ्ट सिँचाई आयोजना निर्माण भएको आयोजना निर्माण समितिका अध्यक्ष हरिलाल रावतले बताउनुभयो ।

“नदीको पानी पहाडको टुप्पोमा पुग्ला भन्ने विश्वास थिएन् । २०१९ देखि चार वर्षे क्याफ्स कर्णाली परियोजनाले चमत्कारी ढङ्गबाट पहाडमा पानी पुर्‍यायो । बाँझो जग्गामा सिँचाई, उत्पादन वृद्धि र किसानको जीविकोपार्जन सुधार हुने अपेक्षा छ ।”, उहाँले भन्नुभयो । 

लिही गाउँकै कृषक नन्ददेवी बोहराले दशकौँदेखि सिँचाई अभावको समस्या अन्त्य हुँदा खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्याप्स कर्णाली परियोजना हाम्रा लागि भगवान् बन्यो । धन्यवाद दिने शब्द छैन । अब बाँझो खेत बारीमा स्याउ ओखर खेती सुरु गर्छौ ।” 

सुक्खा पहाडमा पानी पुगेपछि नन्ददेवी जस्तै लिहि र लर्मी गाउँका ३ सय ३८ घरधुरी उत्साहित भएका छन् । 

३२ हेक्टर जमिनमा सिँचाई हुने 
लिफ्ट सिँचाई आयोजनाबाट लिहि र लर्मी गाउँको ३२ हेक्टर जमिनमा सिँचाइ गर्न सकिने छ । 

लिफ्टमार्फत तिला नदीबाट झण्डै एक किलोमिटर दरी उचाइको पहाडमा पानी पुर्‍याइएको छ । 

आयोजनाको दिगोपना र गुणस्तरका लागि ६० एचपी पम्पिङ संरचना सहितको इन्टेक, १ सय केभी विद्युतीय ट्रान्सफर्मर सहितको पावर हाउस, १ हजार ३ सय २० मिटर मुख्य पाइप लाइन, १ सय घनमिटरको रिजर्भ वायर ट्याङ्की र ४ वटा ३० घन मिटरका वितरण पोखरी निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिलाल रावतले जानकारी दिनुभयो । 

अब बाँझो जग्गाले सिँचाई पाउने छन् । किसानले श्रम अनुसारको फल पाउने छन् । भने बजारले रैथाने कृषि उत्पादन पाउने आशा गरिएको छ ।

लिही र लर्मी गाउँका ३ सय ३८ घरधुरीका किसानले उक्त आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने भएका छन् । त्यहाँका किसानले सिँचाई अभावमा जग्गा बाँझो राख्ने पाउने छैनन् । सिँचाई पुगेसँगै युवाहरू व्यवसायी कृषिमा होमिने आशा पलाएको र पालिकाले पनि आवश्यक लगानी गर्ने  तिला– २ वडाध्यक्ष चन्द्रबहादुर बोहराले बताउनुभयो । 

१ करोड ३५ लाख लागत
तिला नदीको पानी पहाडको टुप्पोमा पुर्‍याएर ३ सयभन्दा बढी किसानका जग्गामा सिँचाई गर्न सानो लगानीले सम्भव छैन । 

स्थानीय सरकारको बजेटले डोजरे विकास गर्दैमा ठिक्क छ । विकास साझेदार संस्था पेश नेपालले समुदायको हितका लागि १ करोड ३५ लाख ११ हजारभन्दा बढीको लगानीमा लिफ्ट सिचाई आयोजना निर्माण गरेको पेश नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो । 

“कम लागतले आयोजना बन्ने स्थिति थिएन् । टुक्रे काम गर्नुभन्दा देखिने र प्रत्यक्ष लाभान्वित हुने लक्ष्यले लिफ्ट झण्डै डेढ करोड लगानी गरेका हौँ । त्यस आयोजनाबाट स्थानीयले रोजगारी समेत पाएका छन् । दैनिक ज्याला बापतको २५ लाख २४ हजार १८ रुपैयाँ समेत स्थानीयले छुटै पाएका छन् ।”, उहाँले भन्नुभयो,

यस आयोजनालाई दिगो रूपमा सञ्चालन गर्नका लागि स्थानीय सरकारलाई हस्तान्तरण समेत गरिएको कार्यकारी अध्यक्ष न्यौपानेको भनाई छ ।  

कर्णालीमा ८२ हजार हेक्टर जमिन बाँझै
जलवायु परिवर्तनले कर्णालीको रैथाने बाली उत्पादन पछिल्लो समय घट्दै गएको छ । 

आफ्नै उत्पादनले वर्षको ५÷६ महिना खान नपुग्ने कर्णालीमा वर्षेनी खाद्य संकट निम्तिन्छ । कर्णालीमा वर्षेनी झण्डै साढे ३८ हजार मेट्रिक टन खाद्यान्न अभाव हुन्छ । उत्पादनमा गिरावटसँगै खाद्य संकट निम्तिनुका कारणमध्ये सिँचाइ अभाव पनि हो । सिँचाई नभएकै कारण समग्र कर्णाली प्रदेशको झण्डै ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ ।

जसमध्ये साविक कर्णालीको ५ जिल्लामा मात्रै ३० हजार ५ सय २ हेक्टर खेतीयोग्य जमिन सिँचाइ अभावले बाँझो रहेको पाइएको छ । 

पानीको स्रोत प्रशस्त भए पनि सदुपयोग गर्ने नीति र लगानी नहुँदा कर्णालीका किसान हिउँदे बालीको खेती आकासे पानीकै भरमा गर्छन् । जसले उत्पादन पनि बढी नदिने र वर्षेनी खाद्यान्नको अभाव हुने गरेको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांकअनुसार साविक कर्णालीका पाँच जिल्लामा सिँचाइ सुविधा अभावले ३० हजार ५ सय २ हेक्टर खेतीयोग्य जमिन बाँझै छ । जसमध्ये जुम्लामा १४ हजार ५१, डोल्पामा २ हजार ७ सय ४०, कालिकोटमा ९ हजार २ सय ३४, मुगुमा ९ सय १९ र हुम्लामा ३ हजार ५ सय ९८ हेक्टर खेतीयोग्य जमिन बाँझै छ ।

कर्णालीमा हाल २ लाख १६ हजार ८ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । तर हाल जम्मा ३० हजार ३३ हेक्टर क्षेत्रफलमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । 

सिँचाइ सुविधा नभएकै कारण हाल कर्णाली प्रदेशभर ८२ हजार ४ सय ५९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा बाँझै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button