अङ्ग्रेजी नयाँ वर्ष २०२३ : ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो
वीरगञ्ज । अङ्ग्रेजी नयाँ वर्ष २०२३ मनाउन आजैदेखि ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ । विशेष गरी अङ्ग्रेजी नयाँ वर्षमा छिमेकी मित्र राष्ट्र भारतबाट पिकनिक मनाउन तथा रमाइलो गर्न हजारौँ पर्यटकहरू ठोरी आएका छन् ।

ठोरीको ठुटेखोला, राइधारा, गणेशमान पार्क, चिता खोला, चिसापानी, रानीबन, रातो पहाड लगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने पर्यटकहरूको बाक्लो उपस्थिति रहेको छ । ठोरीमा आज बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर लगायत वीरगञ्जबाट समेत ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकहरू पुगेका छन् ।

विशेष गरी आज शनिवार परेको र नेपाल तर्फका आन्तरिक पर्यटकहरू आज ठूलो सङ्ख्यामा ठोरीमा पिकनिक मनाउन आएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएसँगै होटल व्यवसायीलाई भ्याई नभ्याई भएको छ भने अमृतधारा लगायत खोला, बगर, जङ्गलमा पिकनिक मनाउन आउनेहरूको सङ्ख्या हजारौँ रहेको श्रेष्ठले बताउनुभयो ।
ठोरीको मनोरम र मनमोहक दृश्य तथा शान्त वातावरण नै पर्यटकहरूलाई मन पर्ने गरेकोले हाल त्यस क्षेत्र पिकनिक मनाउन जानेहरूको सङ्ख्या दिनप्रतिदिन बढै गएको छ ।

ठूटे खोलासँगै सितागुफा र सेतो पहाडमा नेपाली राष्ट्रिय झन्डासहित सजाइएको र पिकनिक गर्ने नदी, किनार, बगर, जङ्गलसँग जोडिएको क्षेत्रको सरसफाइ गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भारतबाट नयाँ वर्ष मनाउन आजै सयौँको सङ्ख्यामा परिवारसहित भारतीय नागरिक आइपुगेको र कतिपय होटलमा, कतिपय होमस्टे र कतिपयले आफैले बन्दोबस्तीका सामानसहित टेन्ट गाडेर बसेका छन् ।

विगत दुई वर्षदेखि ठोरी आउनको लागि बाटोको सुविधा अत्यधिक राम्रो भएकोले पर्यटकहरूको रोजाइमा ठोरी परेको नेपाली कांग्रेस ठोरीका युवा नेता प्रकाश खनालले बताउनुभयो ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि ठोरी पिकनिकको लागि आएका पर्यटकहरूको सहजताका लागि गाडीको पार्किङ र सुरक्षाको प्रबन्ध समेत मिलाइएको छ ।
ठोरी भित्रिने पर्यटकको सुरक्षाको राम्रो व्यवस्था मिलाइसकिएको र यसका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी पर्यटकीय क्षेत्रमा खटिएका छन् भने ट्राफिक प्रहरी समेत ठोरी पुगेर सवारी व्यवस्थापनमा सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्