‘हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु’
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ ।

नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले बाँकी जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।” आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो कार्यकालमा मैले भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।” अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

शिक्षाको गुणस्तरले नै राष्ट्र र समाजमा आम नागरिकको जीवन पद्धति निर्धारण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको, अनुशासन र विकासको आधारशिला भनेको शिक्षा नै भएको भन्दै उहाँले थप्नुभयो, “शिक्षाको गुणस्तरद्वारा नै एउटा अनुशासित र सत्य समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रुपमा अघि बढाउन सकिन्छ ।”
स्वर्ण वर्षको कार्यक्रममा आफू उपस्थित भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतका कुरामा आफ्नो ठाउँबाट सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा उहाँले विद्यालयमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो । सोही अवसरमा हीरक द्वार, हीरक स्तम्भको अनावरण, निर्माण गर्न लागिएको भवनको शिलान्यास, हीरक स्मारिकाको विमोचन समेत उहाँले गर्नुभयो ।

कार्यक्रममा प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विसं २०२० जेठ ६ गते चार विद्यार्थी लिएर रात्रिकालीन रुपमा पठनपाठन सुरु गरिएको यस विद्यालयमा हाल तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाल यहाँ कक्षा १ देखि १२ सम्म पढाइ हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्