तपाईँ सुन्दै हुनुहुन्छः

घण्टाघरमा नयाँ घडी जडान गरिँदै 

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरका पुराना घडी हटाए नयाँ घडी जडान गर्न लागिएको छ । 

१२ वर्षदेखि बन्द घण्टाघरका घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य सङ्घको पहलमा वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रुपैयाँ लागतमा नयाँ घडी जडान गर्न लागेको हो । घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भएपनि पुराना घडीहरू मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर शुक्रबारदेखि जडान कार्य शुरु हुने भएको छ । 

नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले बिहीबार घण्टाघरका पुराना घडीलाई विस्थापित गरि नयाँ जडानका लागि पूर्व तयारी शुरु गरिसकेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनु भयो । २०४५ मा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडीको सुई १२ वर्षदेखि रोकिएको छ । घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन सहज बनाएको थियो । 

१२ वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । अहिले मोबाइलको जमाना भएपनि घडीको महत्त्व छुट्टै हुने गर्दछ । 

घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट वीरेन्द्रनगरको अधिकांश ठाउँ देख्न सकिन्छ । घण्टाघरमा चारै दिशामा १÷१ वटा घडी राखिएका छन् । कर्णाली प्रदेशको पहिचानका रुपमा रहेको घण्टाघर सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य समेत हो । काँक्रेविहार, देउतीबज्यै र बुलबुलेपछि घण्टाघर नै पर्यटकीय गन्तव्य रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button