तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको लप्ची क्षेत्रमा देखियो एक जोडी हिम चितुवा

आमा र बच्च हिम चितुवा (तस्बिर सौजन्य गौरीशङ्कर संरक्षण क्षेत्र)

दोलखा । दोलखाको उच्च हिमाली भेग लप्ची आसपास एक जोडी (आमा र बच्चा) हिम चितुवा देखिएका छन् । 

गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लप्ची आसपास जङ्गली जनावरको प्रजातिबारे अध्ययन गरिरहेको र साही क्रममा एक महिनाअघि आमा र बच्चा हिम चितुवा क्यामेरा ट्रर्यापिङमा परेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दहालले बताउनुभयो ।

हिम चितुवाको आमा र हुर्कँदै गरेको बच्चा खेलिरहेको अवस्थामा लप्ची गुम्बा नजिक झण्डै चार हजार मिटरको उँचाइमा रहेको देउराली क्षेत्रमा देखिएको सूचना अधिकारी दहालले बताउनुभयो । 

लप्ची आसपास नै तीन बर्ष अघि सन् २०१९ मा पनि एउटा वयस्क हिम चितुवा संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्रर्यापिङमा देखिएको थियो । झण्डै दुई महिना अघि पनि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा हिम चितुवा देखिएको गौरीशङ्कर संरक्षण क्षेत्रले जनाएको छ । यो बाहेक अन्य दुई ठाउँमा पनि हिम चितुवा देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।

समुन्द्री सतहदेखि तीन हजार माथिको उँचाइमा पाईने बिरालो वर्गमा पर्ने संरक्षित जनावर हिम चितुवा गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्रर्यापिङमा पटक– पटक देखिदा अध्ययनमा उत्साह थपिएको सूचना अधिकारी दहाल बताउनुहुन्छ । अहिले हिम चितुवाको सङ्ख्याबारे एकिन गर्न गौरीशङ्कर संरक्षण क्षेत्रले लप्ची र रोल्वालिङ क्षेत्रको विभिन्न ठाउँमा क्यामेरा ट्रर्यापिङ सहित अध्ययन गरिरहेको दहालले बताउनुभयो । 

अहिले हिम चितुवा देखिएको क्षेत्र उसको हिँड्ने बाटो हो वा शिकारको लागि आइपुगेको हो भन्ने विषय पनि थप अध्ययन पछि मात्र भन्न सकिने दहालले बताउनुभयो । यसको सङ्ख्याको बारेमा अब केही महिना भित्रनै जानकारी गराउन सकिने उहाँको भनाई छ । 

संरक्षित जनावर हिम चितुवा लप्ची र रोल्वालिङ क्षेत्रमा पटक– पटक देखिदा उत्साहित बनेको गौरीशङ्कर संरक्षण क्षेत्रले जलविद्युत आयोजना निर्माण तथा विभिन्न मानव गतिविधिले यसलाई असर नगरोस् भनेर सतर्कता अपनाइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button