तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका ६ पालिकाका पाँच हजार दलितलाई नागरिकता

जनकपुरधाम । मधेश प्रदेशका तीन जिल्लाहरूको ६ वटा पालिकामा सञ्चालनमा रहेको नागरिक सक्रियता परियोजनाले काम गरेपछि पाँच हजार नागरिकताबाट वञ्चित नेपाली दलित वर्गका व्यक्तिहरूले नागरिकता पाएका छन् ।

युरोपियन युनियनको सहयोगमा आसमान नेपालद्वारा सञ्चालित परियोजनाले कामकाज गरेपछि नागरिकताबाट वञ्चितहरूलाई नागरिकता दिनमा सफल भएको परियोजनाले जनाएको छ ।

नागरिकताबाट वञ्चित मुसहर, डोम, हलखोर, चमार, दुसाध, खत्वे सहितका दलित वर्गका व्यक्तिहरूसँग सबै प्रमाण हुँदाहुँदै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय पालिकाहरूमा पहुँच नभएका कारण नागरिकताबाट वञ्चित भएका थिए ।

रौतहटको बौद्धिमाई, ईसनाथ नगरपालिकाका नागरिकताबाट वञ्चित करिब दुई हजारलाई सरोकारवाला निकायहरूसँग सहजीकरण गरी नागरिकता दिलाइएको आसमान नेपालका सुशासन तथा नीति सल्लाहकार गुरु सुवेदीले जानकारी दिनुभयो ।

आसमान नेपालका अध्यक्ष रामप्रवेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव मेख बहादुर मगरातीले परियोजनाले स्थानीय तहको क्षमता विकास तथा दलित सशक्तीकरणमा खेलेको योगदान महत्त्वपूर्ण भएको बताउनुभयो । कार्यक्रमको संयोजन आसमानका कार्यक्रम संयोजक विजय यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button