तपाईँ सुन्दै हुनुहुन्छः

परम्परागत खाद्यान्नको उत्पादन घट्दै, माग वृद्धि हुँदा मूल्य बढ्यो

जनकपुरधाम ।  मिथिलासहित देशभरि उत्पादन हुने कतिपय परम्परागत खाद्यान्न बालीको उत्पादनमा ह्रास उहाँ आउँदा ती खाद्यान्न बालीको मूल्य पनि बढेको छ ।

पछिल्लो समय निक्कै कम मात्रामा उत्पादन हुने कोदो, फापर, चिना, कौनी तथा सख्खर खण्डको उत्पादनमा कमी आएको छ । अहिले ती खाद्यान्नहरूमा औषधीय गुण भएको र यसको सेवनले कतिपय रोगको निदान हुने भएकाले यसको माग भने निकै बढ्न थालेको छ । 

कोदो, फापर, चिना जस्ता खाद्यान्नको खोजी तथा सेवनका लागि उच्च घरानाहरू गाउँ घरको साना बजारहरूमा पुग्न थालेका छन् । मान्छेको खानपानमा आएको परिवर्तनका कारणले परम्परागत खाद्यान्न बाली खान छोडेपछि त्यसको उत्पादनमा व्यापक मात्रामा कमी आएको छ । 

विगतमा गरिब वर्गका व्यक्तिले सेवन गर्ने ती खाद्यान्न सामाग्रीहरू अहिले उच्च तथा घराना परिवारका व्यक्तिले सेवन गर्न थालेपछि यसको मूल्य अकासिएको छ ।

अहिले किसानहरू पनि यसको उत्पादन छोडेकाले माग भएपछि पुनः उत्पादन गर्नुपर्ने आवश्यकतामा कृषि क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । 

पुराना खाद्यान्नहरूमा शरीरलाई स्वास्थ्य बनाउने धेरै तत्त्व रहेकाले यसको उत्पादन बढाउनका लागि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विशेष रुपमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको भनाई छ । पहिला पहिलाका मान्छेहरू यसको सेवन गरेका कारणले नै स्वास्थ्य रहने गरेको उहाँ बताउनुहुन्छ ।

अहिले आधुनिक खानपान, बिलासी जीवन शैलीका कारणले प्रायः व्यक्तिमा नसर्ने रोगको समस्या बढिरहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

नसर्ने रोगका कारण कम्तीमा तीन जना मध्ये दुई जनाको मृत्यु हुने गरेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो । 

नसर्ने रोगको नियन्त्रणका लागि परम्परागत खानपान तथा जीवन शैली अपनाउन आवश्यक रहेको विज्ञहरूले बताउन थालेपछि परम्परागत खाद्यान्नको माग बढेसँगै ती खाद्यान्नहरूको मूल्य पनि बढ्न थालेको छ ।

अहिले परम्परागत खाद्यान्न बालीको माग तारे होटलमा पनि हुन थालेको छ । यी बालीको उत्पादन घटेको तर माग बढेपछि मूल्य अकासिएको छ । केही दशक अगाडीसम्म गरिब तथा पशु चौपायाले खाने सख्खर खण्डको मूल्य अकासिएको छ । 

जनकपुरधामको बजारमा सख्खर खण्ड प्रतिकिलो १ सयमा विक्री वितरण भइरहेको छ । आजभन्दा २५÷३० वर्ष अगाडि प्रति एक रुपैयाँमा विक्री हुने सख्खर खण्डको मूल्य अहिले एक सयमा विक्री भएपछि उपभोक्ताहरू अचम्मित भएका छन् ।

आलुभन्दा पनि कम मेहनत तथा लागतमा बढी उत्पादन हुने सख्खर खण्डको उत्पादन बढाउनु पर्ने आवश्यकता रहेको छ । यसको उत्पादनमा त्यति मेहनत पनि नरहेकोले सजिलै गर्न मिल्ने भएकाले यसको उत्पादनमा प्रोत्साहनको नीति लिन आवश्यक छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button