तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय सहरमा साहित्यिक रमझम

कास्की । पोखरामा यतिबेला साहित्यको महाकुम्भ मेला चलिरहेको छ । फेवातालको किनार वाराही घाटको मैदानमा पुस ६ गतेदेखि जारी नेपाल लिटलेचर फेस्टिभलमा आउने सयौँ दर्शकहरूले साहित्यको उर्वर भूमि पोखरामा प्रकृति प्रेम महसुस गरिरहेका छन् ।

साहित्य महोत्सवले चिसिएको पोखराको मौसमलाई तताइरहेको छ । जहाँ घर परिवारलाई समय दिने हजारौँ मुटु बिरामीहरूको शल्यक्रिया गरेका डाक्टर भगवान् कोइरालादेखि युवा पुस्ताका चर्चित लेखक सुविन भटराईसम्म एउटै मञ्चमा पाठक माझ प्रस्तुत हुनुभएको छ ।

पोखरामा जारी १० औ संस्करणको साहित्य महोत्सवमा देशका मेचीदेखि महाकाली सम्मका साहित्य स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको छ । पछिल्लो समय देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा रहेको धेरै समाचार आउने गरेका छन् । तर, साहित्य महोत्सवमा कसरी देखको अर्थतन्त्र सुधार्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले सबैले भन्ने गरेको जस्तो अर्थतन्त्र लथालिङ्ग दिशामा मात्र हैन गर्न सक्यो भने राम्रो सुधार गर्ने थुप्रै ठाउँ रहेको बताउनुभयो ।

साहित्य महोत्सवमा ‘भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र’ बारे डाक्टर स्वर्णिम वाग्लेले देशको नेतृत्व सही हुँदा अर्थतन्त्र पनि सही हुने भन्दै अर्थतन्त्रको मापनमा रहेका सूचक विकास भए पनि रेमिटेन्सबाट चलेको आर्थिक पाटो लथालिङ्ग नै रहेको बताउनुभयो ।

पोखराको फेवा किनारमा भएको महोत्सवमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान् कोइराला पनि सहभागी हुनुभयो । देशका सातै प्रदेशमा कस्तो स्वास्थ्य सेवा आवश्यक छ भन्नेदेखि डाक्टर कोइरालाका जीवनी पनि रोचक रुपमा पाठकले जानकारी पाउनुभयो ।

साहित्यकार, पत्रकार, कलाकार, पत्रकार लगायत सहभागी महोत्सवमा लेखक र पाठकबिच प्रत्यक्ष भेटघाट गर्ने अवसर समेत जुराएको छ । हालसालै बजारमा आएको इजोरिया उपन्यास कसरी लेख्न सुरु भयो ? पात्र र बिम्बबारे पाठकहरूको प्रश्नोत्तर पनि रोचक देखियो । युवा पुस्ताका चर्चित लेखक सुविन भटराईले लेखिएका पाण्डुलिपिमा गरिएको अथक मेहनत र पुनर्लेखन नै राम्रो सिर्जनाको बलियो आधार हुने बताउनुभयो ।

पोखरामा जारी साहित्य महोत्सवले पोखराको साहित्यिक परम्परादेखि पठन संस्कृतिको विकास गरेको छ । महोत्सवले पोखरामा पर्यटकीय चहलपहल पनि बाक्लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button