बझाङमा भुवा पर्वको रौनकता

बझाङ । बझाङ जिल्लामा भुवा पर्वको रौनकता छाएको छ । बझाङ लगायत सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु भएको हो । यो पर्व युद्धकालीन अभ्यास बझाङ्गी संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ । हातमा तरबार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विशेष गरी सुदूरपश्चिमको बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा मनाउने गरिन्छ । भुवा पर्वमा पाण्डव र कौरवको गाथा गाउने तथा ढाल र तरबार सहित भुवा चाली खेल्ने, भारीखेल लगाउने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ ।
आज बझाङ सहित सुदुपश्चिमका जिल्लाहरूमा आगोका राँकाहरू बालेर स्थानीय एकै ठाउँमा जम्मा भई भुवा जगाएको छ । सत्यको जित सँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले तथा पाण्डवले कौरवसँगको लडाइमा विजय हाँसिल गरेको अवसरमा भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकार जयपृथ्वी नगरपालिका १ कैलाशका पुन्या सिंहले बताउनुभयो । भुवा पर्वको सन्दर्भमा आज बझाङ, अछाम, बाजुरा र डोटी जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
भुवा पुस पूर्णिमाको दिनदेखि सुरु भएर लगातार १५ दिनसम्म खेल्ने चलन रहेको जयपृथ्वी नगरपालिका २ का गणेश खड्का बताउनुभयो । उहाँका अनुसार पुरानो संस्कृति अनुसार विभिन्न गाउँ टोलमा भुवो नाच देखाउने गरिन्छ । यो समय खेतीपातीको कामबाट फुर्सद हुने समय भएकाले स्थानीय बासिन्दा पर्वमा बढी सहभागी हुने गरेको खड्काले बताए । भुवो नाचका क्रममा नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ ।
सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा यसलाई लिइने गरेको जयपृथ्वी नगरपालिका १० का भुवो पर्वका जानकार विष्णुभक्त जोशी शास्त्रीले बताउनुभयो । शास्त्रीले भन्नुभयो, ‘सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो नाच जोगाउन यहाँको युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक छ ।’
अघिल्लो पुस्ताका बुढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्छन् । भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो । भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउँदै नाच्ने गर्दछन् । भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात ५ हजार वर्ष अगाडि भएको मान्यता छ । महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास गरिने थलारा गाउँपालिका २ बगडाका संरक्षक बहादुर सायरले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्