गण्डकी प्रदेशका सांसदको शपथ पुस १४ गते हुने, मित्रलाल बस्यालले शपथ ग्रहण गराउने

पोखरा । नव निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १४ गते हुने भएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएका गण्डकी प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रदेश संसद् सचिवालयले जनाएको छ । नव निर्वाचित प्रदेश सांसदहरूलाई शपथको पत्राचार गर्ने तयारी संसद् सचिवालयले गरेको छ ।
प्रदेश सभा सदस्यहरुले शपथ खानु पूर्व गण्डकी प्रदेश सभा सदस्य मध्येका ज्येष्ठ सदस्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष शपथ खाने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेश सभामा ज्येष्ठ सदस्य पर्वत प्रदेश निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित मित्रलाल बस्याल हुनुहुन्छ । उहाँले पुस १३ गते बिहान ११ बजे शपथ खाने कार्यक्रम छ । अन्य सदस्यहरुले पुस १४ गते ज्येष्ठ सदस्य बस्याल बाट शपथ लिनुहुनेछ ।
शपथ लिन आउँदा प्रदेश सांसदले नागरिकता प्रमाणपत्रको फोटोकपी, दुई प्रति फोटो र निर्वाचन आयोगले दिएको निर्वाचित प्रमाणपत्र ल्याउनुपर्ने प्रदेश संसद् सचिवालयले जनाएको छ । गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३६ र समानुपातिक निर्वाचन प्रणालीबाट २४ गरी ६० सांसद छन् ।







प्रतिक्रिया राख्नुहोस्