एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
कावासोती। पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दैआएका छन् ।
नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले बताउनुभयो । “विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यस पटक नै हो, यो आफैँमा दुर्लभ संयोग हो”, दाहालले भन्नुभयो, “एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।”
जुम्ल्याहा जन्म आफैँमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउनुहुन्छ । “एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छाँै”, दाहालले भन्नुभयो ।
जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आउनुभएका शिक्षकसँग पनि फरक खालको अनुभव रहेको छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले ऊनीहरूमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउनुहुन्छ । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरूपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउनुहुन्छ । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरू विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उहाँले बताउनुभयो ।
विद्यालयको कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उहाँहरू घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउनुहुन्छ । उहाँहरू जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदी बहिनी हुनुहुन्छ । दिदी बहिनी त्यसै माथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरू र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उहाँहरू सँग छ ।
जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन समस्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता रिसिकान्त सापकोटा बताउनुहुन्छ । जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरू आवश्यक मात्रमा पु¥याएर सुरु सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किँदै गएपछि धेरै कुराहरू मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउनुहुन्छ । “सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरू बच्चाहरूले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ”, उहाँले भन्नुभयो ।
विसं २०४६ मा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३औँ वार्षिकोत्सवमा मङ्गलबार जुम्ल्याहा सन्तान र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्