कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सभापति देउवाको उम्मेदवारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तावक र नेता पूर्णबहादुर खडका समर्थक रहनुभएको छ भने महामन्त्री थापाको उम्मेदवारीमा नेता डा. शेखर कोइराला प्रस्तावक र समर्थकमा नेताहरू धनराज गुरुङ, प्रदीप पौडेल र विश्वप्रकाश शर्मा रहनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा आफूले सभापति देउवालाई समर्थन गरेको र उहाँलाई निर्विरोध दलको नेता बनाउनुपर्ने आफ्नो धारणा रहेको सञ्चारकर्मीलाई बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य पदमा देउवा डडेल्धुरा(१ बाट निर्वाचित हुनुभएको थियो भने थापा काठमाडौँ–४ बाट निर्वाचित हुनुभएको थियो ।
नेपाली काङ्ग्रेस संसदीय दलका नेता चयनका लागि भोलि हुने निर्वाचनमा ८९ जना सांसदले मतदान गर्नुहुनेछ ।









प्रतिक्रिया राख्नुहोस्