तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकका सबै नगर व्यवस्थित शहरीकरणतर्फ अग्रसर हुनुपर्छ : प्रधानमन्त्री देउवा

file photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगर व्यवस्थित शहरीकरणतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । 

नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा आज प्रधानमन्त्री देउवाले अधिकांश नगरपालिका दिगो र हरित विकासको अवधारणासाथ अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले नगरहरू अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेको भन्दै नगरको प्राकृतिक सौन्दर्य र मौलिकतालाई जोगाउँदै सुरक्षित र स्वच्छ सहर निर्माण गरिनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले सङ्घले नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयो । 

उहाँले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत र साधनको समुचित परिचालन गर्दै जनताप्रतिको आफ्नो दायित्व र जबाफदेहितालाई कुशलतासाथ निर्वाह गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।     

तीन दिनसम्म चल्ने महाधिवेशनमा अन्तर सरकारी विषयवस्तु, स्थानीय सेवा प्रवाह, वित्तीय सङ्घीयता सुदृढीकरण, जैविक विविधता र जलवायु परिवर्तन लगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । 

अधिवेशनमा विषयविज्ञसहित देशभरका नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button