तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासङ्घ, बाराको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

बारा । नेपाल पत्रकार महासङ्घ बारा शाखाको १७ औँ वार्षिक साधारण सभा अम्लेखगंजमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासङ्घ बाराका सचिव दीपेन्द्र चौहानले गर्नुभएको थियो । त्यस अवसरमा चौहानले पत्रकारले जनता र सरकारबीच पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घले सदस्यता शुद्धीकरण अभियान चलाइरहेका कारण बारा शाखाले पनि त्यसलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

बारा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले पत्रकार बिना संसारको कल्पना गर्न नसकिने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ बारा शाखाका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रिय सदस्य शिव पुरी, सुवास साह, केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाराका पूर्व अध्यक्षहरू गुरु प्रसाद गौतम र कमल कुमार उपाध्यायलाई सम्मान गरिएको थियो । महासङ्घले ६० वर्ष उमेर पार गरेका पत्रकारहरू सत्यप्रकाश श्रेष्ठ, रामेश्वर मेहता र उमेश दासलाई महिनाको पाँच सय रुपैयाँको दरले पेन्सन प्रदान गरेको थियो ।

महासङ्घबाट पेन्सन स्वरूप प्राप्त गरेको रकम पत्रकार श्रेष्ठले आर्थिक सहयोग स्वरूप महासङ्घलाई नै फिर्ता गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ बारामा १ सय २९ पत्रकारहरू आबद्ध रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button