तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम डि.बी. किराँती स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

सोलुखुम्बु । प्रथम डि.बी. किराँती (थुलुङ) स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सदरमुकाम सल्लेरीमा सुरु भएको छ ।

डि.बी. किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र जिल्ला ब्याडमिन्टन सङ्घ सोलुखुम्बुको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगिता सञ्चालन गर्न सरकारकै मात्र मुख ताक्ने परिपाटी रहेकाले यसलाई सुधार गर्दै सबै आ–आफ्नो क्षेत्रबाट लागिपरे नगरपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।

प्रतियोगितामा १५ बर्ष मुनिको सिङ्गल पुरुषतर्फ १४ जना, खुला महिलातर्फ आठ टिम, खुला पुरुषतर्फ १७ टिम र ३५ बर्ष माथिको डबल पुरुषतर्फ १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्ट्समा प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद १५ हजार रुपियाँ र सात हजार पाँच सय रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ भने तृतीय हुने दुई जनालाई नगद पाँच/पाँच हजार रुपियाँका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

तीन दिनसम्म हुने प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुङ्गा, खोटाङ, सिन्धुली, काठमाडौँ लगायतका जिल्लाहरूबाट खेलाडीले सहभागिता जनाएका छन् ।

साहित्यकार, कृषि विज्ञ, चित्रकार तथा राजनीतिज्ञ किराँतीको ६५ वर्षको उमेरमा २०७८ पुस ४ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button