कार्यस्थलमा हुने यौनहिंसाका उजुरी बढ्दो
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले एउटै कार्यालयबाट पटक पटक यौनजन्य हिंसाका उजुरी आउने गरेको जानकारी गराउनुभएको छ ।
आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष पराजुलीले पछिल्लो समय कार्यस्थलमा महिलामाथि यौनजन्य हिंसा बढेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम भुसाल अधिकारीले कार्यस्थलमा हुने यौनजन्य हिंसाका विषयमा सबै कर्मचारीलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।
ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावलले कार्यालयमा हुने यौन हिंसा र लैङ्गिक हिंसाका मुद्दामा जनप्रतिनिधिको विशेष ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल टेलिकमकी इन्दु आचार्यले सहकर्मी र माथिल्लो तहका कर्मचारीबाट हुने यौन हिंसाविरुद्ध उजुरी दिन सक्ने वातावरण नभएको गुनासो गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले कार्यालयमा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि प्रत्येक कार्यालयका प्रमुखहरूलाई सचेत गराउनुपर्नेमा जोड दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्