तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ११ प्रतिशत मत बदर 

बाजुरा । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको  निर्वाचनमा बाजुरामा ११ प्रतिशत मत बदर भएका छन् ।  

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बाजुरामा ६ हजार ५ भन्दा बढी मत बदर भएको हो ।  एउटा वडामा एक स्वयंसेवक  मार्फत मतदाता शिक्षा दिने नीति अनुसार कतिपय स्वयंसेवक  घरमै नपुगेका र  पुगे पनि राम्रोसँग मतदाता शिक्षा नदिँदा बदर मत बढेको  स्थानीयले बताएका छन् । 

स्थानीय तहले नियुक्त गरेका स्वयंसेवकले मतदाता शिक्षा फैलाउन भन्दा पनि गाउँमा आफ्ना पक्षीय पार्टीको प्रचार गरेको आरोप स्थानीय मदन विक लगायतका युवाको आरोप छ ।  गाउँमा पार्टीको प्रचारप्रसार गर्ने अनि कसरी मतदाताले मतदाता शिक्षा पाउँछन् उनको भनाई छ । 

निर्वाचन आयोगले स्थानीय तहलाई मतदाता शिक्षा प्रदान गर्ने जिम्मा दिएर झारो टार्ने काम मात्र गरेको बुढिनन्दा नगरपालिकाका सर्वदेब बोगटीको भनाई छ । मतदाता शिक्षाका लागि स्वयंसेवक गाउँ गाउँमा पठाएको सुन्यो तर गाउँमा स्वयंसेवक कही देखेनौ साप्पाटाका धनबहादुर धामीले भन्नुभयो । आगामी निर्वाचनमा आयोगले मतदाता शिक्षाको ‘क्रियाकलाप ’लाई परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । बदर मत बढी हुनुमा राजनीतिक ‘इस्यु’ पनि मुख्य कारण भएको निर्वाचनमा पत्रकार लक्ष्मीराज पाध्यायको  भनाइ  छ । आयोगले प्रदान गरेको मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आगामी दिनमा सुधार गरेर मात्र मतदाता शिक्षा दिनुपर्ने पाध्यायले भन्नुभयो । 

कतिपयले दुई वा दुईभन्दा बढी चिह्नमा मतदान गरेका छन् । कतिपयले मतपत्रमा औँठाको छाप लगाएको पाइएको छ । मतदातालाई पर्याप्त मतदाता शिक्षाको अभावका कारण यस्तो गल्ती गरेको हुनसक्ने नागरिक अगुवाहरूले बताएका छन्  ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन रहेको बाजुरामा सबैभन्दा बढी प्रदेशको समानुपातिक मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा रहेको छ । जस अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १ हजार २२८ र समानुपातिकमा १ हजार ८ सय ३५ मत बदर भएको उल्लेख गरिएको छ ।

त्यसै गरी प्रदेश सभातर्फ प्रदेश (क) प्रत्यक्षमा ५ सय ७ र प्रदेश (ख) मा ९ सय ७८ मत र प्रदेश समानुपातिकको २ हजार १ सय ७ बदर भएको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाजुरामा ६ हजार ५ सय ५५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बाजुरामा कुल मतदाता सख्या ८३ हजार ५ सय ६७ रहेकोमा ६० हजार १ सय ५२ मत खसेको थियो ।

दलहरू गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुगेकाले धेरै सङ्ख्यामा मत बदर भएको जानकारहरू बताउँछन् । यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले नै प्रतिनिधि सभाको मतपत्र दिने ठाउँमा प्रदेश सभाको मतपत्र दिने जस्ता कमजोरीका कारण समस्या उत्पन्न भएको उनीहरूको ठम्याई छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बाजुरामा जम्मा चार प्रतिशत मत बदर भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button