तपाईँ सुन्दै हुनुहुन्छः

झापाका किसानलाई सिँचाइका लागि खेतमै विद्युत् सेवा

भद्रपुर, झापा । झापाको झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा विद्युत् पुर्‍याउन शुरु गरेको छ ।

किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत् सुविधा पुर्‍याउन थालिएको हो । पालिकाले चालु आर्थिक वर्षमा किसानको खेत–खेतमा बिजुली पुर्‍याउने परियोजनाका लागि सात सयवटा बिजुलीका पोल खरिद गरिसकेको छ ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले सिँचाइका लागि चालु आर्थिक वर्षमा १५० किसानको खेतमा विद्युत् पुर्‍याउने काम  धमाधम भइरहेको जानकारी दिनुभएको छ । गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइएको थियो ।

पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल र विद्युतीय उपकरणको आधा लागत रकम अनुदानमा उपलब्ध गराउँदै आएको अध्यक्ष साहले बताउनु भयो । 

यस क्षेत्रका किसानले धान, मकै, तोरी, गहुँ र विभिन्न तरकारी खेती गर्दै आएका छन् । विगतमा आफूलाई खान पुग्ने मात्र अन्न उत्पादन गर्दै आएका स्थानीयवासी पालिकाले अनुदान दिन थालेपछि व्यावसायिक तरकारी खेतीमा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button