सिंहदरबारभित्रका पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र
काठमाडौँ । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।
मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६३ औँ बैठकले सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि तत् तत् निकायले कानुनबमोजिम लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको हो ।
त्यस्तै, सिंहदरबार परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यीकरणजस्ता कार्यका लागि सम्बन्धित निकायलाई पहल गर्न पनि निर्देशन दिइएको छ ।
त्यस्तै राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी कार्यलाई सरलीकरण गर्न, अन्तर निकाय सूचना आदान–प्रदानमा सहजीकरण गर्न र एकीकृत सूचना प्रणाली अवलम्बन गर्न ‘डाटा गभर्नेन्स’लाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
त्यस्तै बैठकले सामुदायिक विद्यालयमा आवश्यक पर्ने पाठ्यपुस्तकको छपाइ गरी समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउन, सरकारी अस्पतालको सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यको गुणस्तर सुधार गर्न र दुर्गम क्षेत्रमा हुने हवाई उडानलाई सहज बनाउन आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
सार्वजनिक सेवा प्रवाहमा सुधार, सम्भावित शीत लहरबाट हुने असर न्यूनीकरण, संयुक्त बजार अनुगमन लगायत विषयमा पनि केन्द्रीय अनुगमन समितिले निर्देशन दिएको छ ।
यस्तै बैठकले समितिबाट भएका निर्णयहरू कार्यान्वयन भए/नभएको बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी दिन र निर्णय कार्यान्वयनका लागि समन्वय गर्न हरेक मन्त्रालय र निकायले सम्पर्क व्यक्ति तोक्नसमेत निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्