तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा धनगढी आउनुहुँदै

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउँदै हुनु हुन्छ । उहाँ बिहान ११ बजे काठमाडौँबाट धनगढी आउनु हुने कार्यक्रम रहेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिम महोत्सवको समुद्घाटन समारोहमा सहभागी हुन धनगढी आउन लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका १ स्थित पशुपतीटोल मैदानमा आज दिउसो २ बजे सुदूरपश्चिम महोत्सव २०७९ को समुद्घाटन गर्नु हुने कार्यक्रम रहेको कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताउनुभयो । प्रधानमन्त्री धनगढी आउनु हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । 

प्रधानमन्त्रीलाई १५ किलोकाे माला

सुदूरपश्चिम महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला पहिराएर भव्य स्वागतको तयारी गरेको छ। उहाँको स्वागतमा संघका तर्फबाट १५ किलोको माला पहिराउने तयारी गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनु भयो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा समक्ष सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिसँग जोडिएको १५ बुँदे ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको उहाँले बताउनु भयो । प्रधानमन्त्रीको स्वागतमा विभिन्न झाँकी प्रस्तुत गरिनेसमेत उहाँले जानकारी दिनुभयो । 

महोत्सव १६ औँ संस्करण 

कैलाली उद्योग वाणिज्य सघले २०६३ सालदेखि धनगढीमा आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको यो १६औँ संस्करण हो । समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मुल नारा रहेको सुदूरपश्चिम महोत्सवको मुख्य उद्देश्य उद्योग, व्यापार, पर्यटन, कृषि उपज, लोकसंस्कृतिको संवर्द्धन गर्नु रहेको संघका अध्यक्ष पुष्पराज कुँवरको भनाई छ । यसपालिको महोत्सवमा करिब ४ सय स्टल रहेको र १० करोड बराबरको कारोबार हुने सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button