तपाईँ सुन्दै हुनुहुन्छः

नरहरिनाथमा अपाङ्गता दिवस मनाइयो

कालिकोट । कालिकोटको नरहरिनाथमा ३१औँ अपाङ्गता अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । 

समावेशी विकासका लागि रूपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन भन्ने मुल नाराका साथ मनाइएको दिवस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले जीविकोपार्जनका लागि राज्यले समान अवसर उपलब्ध गराउन माग गरेका छन् । 

न्यायको मागसहित उनीहरूले राज्यको विभेदकारी कानुनका कारणले अपाङ्गता भएका व्यक्ति–व्यक्ति वीच समेत विभेद हुँदै आएको बताएका हुन् । 

नरहरिनाथ गाउँपालिकाको प्राङ्गणमा भएको दिवसमा अपाङ्ग पुनर्स्थापना केन्द्र कालिकोटका अध्यक्ष केशवराज देवकोटाले लैङ्गिकता, अपाङ्गता, जातीयता र अधिकारको सुनिश्चित नभएसम्म समाजले फड्को मार्न नसक्ने जनाउनुभयो । 

उहाँले अपाङ्ग–अपाङ्ग बीचको विभेदलाई अन्त्य गर्दै समान अवसरसहित सुनिश्चित सहभागिता अपरिहार्य रहेको औँल्याउनुभयो । 

कार्यक्रममा नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले कानून कार्यान्वयनका क्रममा केही प्राविधिक समस्याहरू रहेपनि समग्रमा अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा दिन कुनै कसर बाँकी नराखिने बताउनुभयो । 

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपानेले तीन सय ३१ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गरिएपनि थप व्यक्तिहरूको तथ्याङ्क सङ्कलन कार्य तीव्र पारिने प्रतिबद्धता जनाउनुभयो । 

सहास नेपाल (पाइला परियोजना) र नरहरिनाथ गाउँपालिकाको संयुक्त आयोजना भएको कार्यक्रममा आईएनएफ, अपाङ्ग पुनर्स्थापना केन्द्रलगायतका सङ्घसंस्थाका प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकारका लागि सामूहिक ऐक्यबद्धता आवश्यक रहेको औँल्याएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button