तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा १४ उम्मेदवारको जमानत जफत

सोलुखुम्बु । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सोलुखुम्बुका १४ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।

मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभातर्फका छ जना र प्रदेशसभातर्फका आठ जना उम्मेदवारको जमानत जफत भएको हो ।

धरौटी जफत हुनेमा प्रतिनिधिसभातर्फका उम्मेदवारहरू जसपा नेपालका ल्हाक्पा शेर्पा, राप्रपाका ज्ञानेन्द्रबहादुर बस्नेत, नेमकिपाका तारानाथ कट्टेल, नेकपा मालेका विष्णुप्रसाद बास्तोला, मङ्गोल नेश्नल अर्गनाईजेशनका सौविर राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पा रहनुभएको छ ।

त्यस्तै, प्रदेशसभा क तर्फका उम्मेद्वारहरु जसपाका भक्तबहादुर राई, राप्रपाका नरबहादुर बस्नेत, मङ्गोल नेश्नल अर्गनाईजेशनका खेमकुमार राई र नेमकिपाका चेतनाथ खनालको पनि जमानत जफत भएको छ ।

प्रदेशसभा ख तर्फका उम्मेद्वारहरु जसपाका महेश कुमार रानामगर, राप्रपाका प्रेमहरि दाहाल, मङ्गोल नेश्नल अर्गनाईजेशनका शान्तिमाया रानामगर र नेमकिपाका कमलबहादुर मगरको जमानत रकम जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । तर उक्त धरौटी रकम फिर्ता हुन खसेको सदर मतको १० प्रतिशत कटाउनुपर्ने प्रावधान छ । प्रतिनिधिसभातर्फ कुल खसेको ४० हजार ७३ मत मध्ये ३७ हजार ८१० मत सदर रहेको थियो ।

यस्तै प्रदेशसभा क तर्फ २० हजार ६४० मत खसेकोमा १९ हजार ४७४ मत र प्रदेशसभा ख मा १९ हजार ४३३ मत खसेकोमा १८ हजार ५७२ मत सदर रहेको थियो । जमानत जोगाउन प्रतिनिधिसभातर्फका उम्मेदवारले तीन हजार ७८१ मत, प्रदेशसभा क का उम्मेदवारले १९४७ मत र प्रदेशसभा ख का उम्मेदवारले १८५७ मत पाउनुपर्ने थियो ।

प्रतिनिनिधिसभातर्फ विजेता नेकपा एमालेका मानवीर राई र उपविजेता नेपाली काङ्ग्रेसका बलबहादुर केसीले मात्रै जमानत जोगाउनुभएको छ । प्रदेशसभा क तर्फ विजेता माओवादी केन्द्रका गम्बु शेर्पा र उपविजेता नेकपा एमालेका उत्तमकुमार बस्नेतले जमानत जोगाउनुभएको छ भने प्रदेशसभा ख तर्फ पनि विजेता एमालेका बुद्धिकुमार राजभण्डारी र उपविजेता माओवादी केन्द्रका शिवबहादुर बस्नेतले मात्रै जमानत जोगाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button